
नेपाल वायुसेवा निगम जुम्लाले नियमित उडान नगर्दा बिरामी लगायत अतिआवश्यक यात्रा गर्ने यात्रुले समस्या झेल्नु परेको छ। आईतबार उडानमा अनियमितता भएको भन्दै यात्रुहरुले निगमको कार्यालयमा तालाबन्दी गरेका छन्।
जुम्ला लगायत अन्य जिल्ला बाट हवाई यात्राका लागि जुम्लामा विमान कुरिरहेका विरामीहरु आज दश दिन पुगिसक्दा सम्म जुम्लामै अड्किनु पर्दा सो अवस्था निम्तिएको हो।
डोल्पाको त्रिपुरासुन्दरी गाउँपालिकाकी भगवती रोकाया भन्छन् ; स्तनको शल्यक्रिया गरेर थप उपचारका लागि काठमाडौँ जाने प्रतिक्षामा आज नौ दिनदेखि विमानस्थल धाइरहेको छु। कहिले जाने हो पत्तो छैन।
त्यस्तै, जुम्ला तातोपानी-४ की गर्भवती संगीता सार्की एक हप्तादेखि जहाज कुरिरहेकी छन्। चन्दननाथ नगरपालिकाका काली बहादुर रावल लगायत अन्य दर्जनौँ बिरामीहरू टिकट पाएर पनि उडान नहुँदा छटपटिन बाध्य छन्।
निगमको कार्यालयमा तालाबन्दी गरे पछि जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी मिन बहादुर रावलले अहिले नै नेपाल वायुसेवा निगम र सरोकारवाला पक्षसँग छलफल गरी उडान सुचारु गराउन पहल भइरहेको बताएका छन्।
प्रतिक्रिया दिनुहोस्