
मुगुको छायाँनाथ रारा नगरपालिकाका नगरप्रमुख विष्णुकुमार भामले आफ्नो पाँच वर्ष (५९ महिना) को कार्यकालमा प्राप्त हुने सम्पूर्ण सेवा-सुविधा व्यक्तिगत प्रयोजनमा खर्च नगरी जनहितमा लगानी गर्ने घोषणा गरेका छन्।
सोमबार आयोजित पत्रकार सम्मेलनमा नगरप्रमुख भामले आफूले पाउने पारिश्रमिक, पाँच वटा दशैँ सुविधा तथा बैठक, कार्यक्रम, तालिम र गोष्ठीबापत प्राप्त हुने भत्तालगायत सम्पूर्ण सेवा-सुविधा शिक्षा, स्वास्थ्य, विपन्न तथा दलित समुदाय, विपद् प्रभावित नागरिक र सार्वजनिक पूर्वाधार निर्माणमा खर्च गर्ने प्रतिबद्धता व्यक्त गरे।
उनका अनुसार ५९ महिनाको पारिश्रमिक र अन्य सुविधा गरी कुल करिब २८ लाख १४ हजार रुपैयाँ प्राप्त हुने देखिन्छ, जसलाई प्रत्यक्ष प्रतिफल दिने विभिन्न शीर्षकमा परिचालन गरिनेछ।
एम्बुलेन्स खरिद योजनाको पुनर्मूल्यांकन:
निर्वाचनका क्रममा आफ्नै सेवा-सुविधाबाट एम्बुलेन्स खरिद गर्ने प्रतिबद्धता जनाएका नगरप्रमुख भामले हाल उक्त योजना पुनर्मूल्यांकन गरिएको स्पष्ट पारे। छायाँनाथ रारासहित छिमेकी पालिका, जिल्ला अस्पताल र रेडक्रस गरी जिल्लामा हाल ८ वटा एम्बुलेन्स सञ्चालनमा छन्।
भौगोलिक कठिनाइ र सीमित सडक सञ्जालका कारण मौजुदा एम्बुलेन्ससमेत पूर्ण क्षमतामा सञ्चालन हुन नसकेकाले थप एम्बुलेन्स खरिद गर्नुभन्दा उक्त बजेट तत्काल लाभ पुग्ने अन्य क्षेत्रमा लगाउनु उपयुक्त देखिएको उनले बताए। “जनतासँग गरेको प्रतिबद्धता पूरा गर्ने नाममा तत्काल अपेक्षित प्रतिफल नआउने क्षेत्रमा राज्य वा जनप्रतिनिधिको स्रोत थुपार्नुभन्दा नागरिकको दैनिक जीवनसँग जोडिने काममा परिचालन गर्नु व्यावहारिक हुन्छ,” उनले भने।
बजेट बाँडफाँड र कार्यक्रम योजना
नगरप्रमुख भामका अनुसार विनियोजित २८ लाख १४ हजार रुपैयाँ निम्नअनुसारका क्षेत्रमा खर्च गरिनेछ:
शैक्षिक सामग्री सहयोग (रु. ८ लाख ५४ हजार): छायाँनाथ राराका साथै मुगुम कार्मारोङ, सोरु र खत्याड गाउँपालिकाका विद्यालयका जेहेन्दार तथा आर्थिक रूपमा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण।
न्यानो कपडा वितरण (रु. ४ लाख ६० हजार): दलित तथा आर्थिक रूपमा कमजोर परिवारका बालबालिकालाई न्यानो कपडा।
विपद् व्यवस्थापन तथा राहत (रु. ४ लाख): विपद्बाट प्रभावित नागरिकलाई तत्काल राहत तथा सहयोग।
सार्वजनिक पूर्वाधार निर्माण (रु. ४ लाख): सार्वजनिक स्थानमा पाटी-पौवा, खानेपानी धारा निर्माण तथा मर्मत-सम्भार।
बिरामी भेटघाट तथा सहयोग (रु. ३ लाख): अस्पतालमा रहेका बिरामी भेटघाट तथा फलफूल र अन्य सहयोग।
बाल विकास सामग्री (रु. २ लाख): प्रारम्भिक बाल विकास (ECD) कक्षाका बालबालिकाका लागि खेलौना तथा सिकाइ सामग्री।
सरसफाइ प्रवर्द्धन (रु. २ लाख): स्थानीय तहमा सरसफाइ सामग्री वितरण।
यी कार्यक्रमहरू आगामी २०८४ साल जेठ २० गतेदेखि आवश्यकताका आधारमा पारदर्शी ढङ्गले सञ्चालन गरिने र यसमा कुनै राजनीतिक पूर्वाग्रह नराखिने प्रतिबद्धता उनले जनाए।
“राजनीति व्यवसाय होइन, सेवा हो”
पत्रकार सम्मेलनमा नगरप्रमुख भामले आफ्नो राजनीतिक दर्शन स्पष्ट पार्दै जनप्रतिनिधिको पद सुविधा भोग्न नभई जिम्मेवारी पूरा गर्नका लागि भएको बताए।
“राजनीति व्यवसाय वा कमाइ खाने भाँडो होइन, यो विशुद्ध सेवा हो,” उनले भने, “हाम्रो लक्ष्य पद होइन, परिणाम हो; प्राथमिकता सुविधा होइन, सेवा हो; अनि राजनीति व्यक्तिगत स्वार्थ होइन, जनताको हित हो।”
नेता जनताको सुख-दुःखमा सँगै रहने सेवक हुनुपर्नेमा जोड दिँदै उनले स्थानीय सरकारलाई पारदर्शी, जवाफदेही र जनउत्तरदायी बनाएर लोकतान्त्रिक व्यवस्थालाई थप बलियो बनाउनुपर्ने धारणा राखे।
प्रतिक्रिया दिनुहोस्