
मुगु — “भिन्न परिवेश–साझा आकांक्षा” भन्ने नाराका साथ मुगुको छायाँनाथ रारा नगरपालिका–१३, नेटामा २७औँ अन्तर्राष्ट्रिय युवा दिवस भव्य रूपमा मनाइएको छ।
२०८३ साल साउन २७ गते (१२ अगस्ट २०२६) आयोजित उक्त विशेष समारोहमा स्थानीय युवाहरूको उत्साहजनक सहभागिता रहेको थियो। युवा दिवसको अवसरमा मौलिक कला, संस्कृति तथा परम्पराको संरक्षण गर्नुका साथै युवाहरूबीच आपसी एकता, सहकार्य र भाइचारा अभिवृद्धि गर्ने उद्देश्यले सांस्कृतिक देउडा खेल कार्यक्रमसमेत आयोजना गरिएको थियो।
कार्यक्रममा सहभागी भई आफ्नो प्रतिभा प्रदर्शन गर्ने तथा देउडा खेलमा सहभागी हुने सम्पूर्ण युवाहरूलाई प्रोत्साहनस्वरूप समान पुरस्कार वितरण गरिएको थियो। युवाहरूबीच समानता, भाइचारा र उत्साह अभिवृद्धि गर्ने उद्देश्यले कुनै पनि प्रकारको भेदभाव नगरी सबै सहभागीलाई समान रूपमा पुरस्कृत गरिएको आयोजकले जनाएको छ।
यसै अवसरमा स्थानीय स्तरमा उद्यमशीलता प्रवर्द्धन तथा व्यवसाय सञ्चालनमा योगदान पुर्याउँदै आएका दुई जना युवा उद्यमीलाई पुरस्कारसहित सम्मान गरिएको थियो। युवाहरूलाई उद्यमशीलतातर्फ आकर्षित गर्न, स्थानीय स्रोत–साधनको सदुपयोग गर्दै आत्मनिर्भर बन्न प्रेरित गर्न तथा सफल युवा उद्यमीहरूको योगदानलाई प्रोत्साहन गर्ने उद्देश्यले उनीहरूलाई सम्मान गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा छायाँनाथ रारा नगरपालिका–१३ की वडा सदस्य हिरामती कामीले युवाहरूको हक, हित र अधिकारका विषयमा आफ्नो धारणा राख्दै युवाहरूका आवाजलाई सम्बन्धित निकायसम्म पुर्याउन सबै पक्षले भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो। उहाँले युवाहरूको क्षमता, प्रतिभा र सिर्जनशीलतालाई सही अवसर प्रदान गर्न सके समाज तथा समुदायको विकासमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो।
साथै, युवाहरूलाई नेतृत्व विकास, रोजगारी तथा उद्यमशीलताका अवसरसँग जोड्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो। कार्यक्रम सिडिएस–पार्क (CDS–PARK), मुगु र सहास–नेपालको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा बालविवाह विरुद्ध साझा अभियान सञ्जाल, मुगु तथा SKOLELIV NEPAL को सहकार्य रहेको थियो। त्यसैगरी छायाँनाथ रारा नगरपालिका, मुगु तथा वडा नं. १३ र १४ को समन्वय रहेको थियो।
कार्यक्रमले स्थानीय युवाहरूको प्रतिभा उजागर गर्नुका साथै मौलिक संस्कृति संरक्षण, युवाहरूबीच एकता र समानताको भावना विकास गर्न तथा युवाहरूलाई उद्यमशीलतातर्फ प्रेरित गर्न महत्वपूर्ण योगदान पुर्याएको आयोजकको भनाइ छ।
प्रतिक्रिया दिनुहोस्