राजेशको यात्रा 



कर्णालीको माटो जुम्ला मा उम्रिएको एउटा सिर्जनशील ब्यक्ति , जसले शब्द, संगीत र सोचका माध्यमबाट समाजसँग गहिरो संवाद गरिरहेका छन्। उनको जीवनयात्रा केवल व्यक्तिगत उपलब्धिको कथा मात्र होइन, समग्र कर्णालीको सम्भावनालाई उजागर गर्ने एक प्रेरणादायी अध्याय पनि हो।

२९औँ जन्मदिनको अवसरमा उनले आफ्नो श्रृर्जनात्मक यात्रालाई अझ उचाइमा पुर्याउने दृढ प्रतिबद्धता सार्वजनिक गरेका छन्। आगामी वर्ष २०८३ भित्र दुई महत्वपूर्ण कृतिहरू—“भूमरी” नामक उपन्यास र “क बाट कर्णाली” नामक विचारप्रधान पुस्तक—पाठकमाझ ल्याउने घोषणा उनको साहित्यप्रतिको निष्ठा र समाजप्रतिको जिम्मेवारीको सशक्त अभिव्यक्ति हो।

“भूमरी” उपन्यासमा प्रेम, संघर्ष र सफलताको गहिरो अनुभूति समेटिने अपेक्षा गरिएको छ। मानवीय भावनाका अनेक तहहरूलाई स्पर्श गर्ने यो कृति पाठकलाई केवल कथा होइन, जीवनको वास्तविक भोगाइतर्फ डोर्याउने एउटा संवेदनशील यात्राजस्तै बन्नेछ।

त्यस्तै, “क बाट कर्णाली” पुस्तकले कर्णालीको समृद्धिको मार्गचित्र कोर्ने प्रयास गर्नेछ। “जुम्ला समृद्धिका दश आधार—कृषि, अर्थ र पर्यटन” भन्ने मूल अवधारणामा आधारित यो कृतिले कर्णालीलाई आत्मनिर्भर र समृद्ध बनाउने सम्भावनाहरूलाई उजागर गर्नेछ। स्थानीय स्रोत, सम्भावना र परिश्रमलाई कसरी विकासको आधार बनाउन सकिन्छ भन्ने स्पष्ट दृष्टिकोण यसमा प्रस्तुत हुने छ ।

हाल तिला गाउँपालिकामा कृषि विकास शाखा प्रमुखका रूपमा कार्यरत विश्वकर्माले आफ्नो पेशागत अनुभवलाई पनि सिर्जनामा रूपान्तरण गर्दै आइरहेका छन् । २०७२ सालमा प्रकाशित “रङ्ग हराएको जिन्दगी” बाट सुरु भएको उनको साहित्यिक यात्रा अहिले अझ परिपक्व र उद्देश्यपूर्ण बन्दै गएको देखिन्छ। त्यस कृतिले १० वर्ष पूरा गर्ने सन्दर्भमा नयाँ पुस्तक ल्याउने उनको प्रतिबद्धता समयसँगै अघि बढ्ने दृढ संकल्पको प्रतीक हो।

साहित्य मात्र होइन, गीत–संगीतको क्षेत्रमा पनि उनको उपस्थिति उत्तिकै प्रभावशाली छ। दर्जनभन्दा बढी गीतमा शब्द तथा संगीत दिनु, आधा दर्जनभन्दा बढी गीतमा कथा लेखन र निर्देशन गर्नु—यी सबै उनको बहुआयामिक प्रतिभाका झल्काहरू हुन्। “बदनाम उपहार” र “सुन्दर कर्णाली” जस्ता चर्चित सिर्जनाले उनलाई अझ व्यापक दर्शकमाझ चिनाएको छ। निकट भविष्यमा आउने तयारीमा रहेका “विश्वास छैन प्रिय तिम्रो” र आफ्नै शब्द–संगीतमा आधारित “तारिफ उनको” जस्ता गीतहरूले पनि उनको सिर्जनशील यात्रालाई निरन्तरता दिनेछन्।

उनको सिर्जना केवल मनोरञ्जनका लागि होइन, समाजलाई सोच्न बाध्य बनाउने, परिवर्तनतर्फ उन्मुख गराउने र कर्णालीको पहिचानलाई उजागर गर्ने माध्यमका रूपमा देखिन्छ।साहित्य, संगीत र सामाजिक चिन्तनलाई एकैसाथ अघि बढाउँदै उनले २०८३ भित्र सार्वजनिक गर्ने दुई महत्वपूर्ण कृतिहरूले नेपाली साहित्य र कर्णालीको विकास चिन्तनमा नयाँ आयाम थपून्।

प्रकाशित मिति : २०८३ वैशाख २ गते बुधबार
अरु पनि पढ्नुहोस्