नेपाली कांग्रेस परित्याग गरी रास्वपा प्रवेश गरेका गुठीचौर गाउँपालिकाका अध्यक्ष बुढाको पद चैट



नेपाली कांग्रेस जुम्लाबाट ०७९ को निर्वाचनमा गाउँपालिका अध्यक्षमा निर्वाचित भएका जुम्ला जिल्ला गुठीचौर गाउँपालिकाका अध्यक्ष दान बहादुर बुढाले नेपाली कांग्रेस परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेपछि बुढाको पद स्वतः रिक्त भएको छ। निर्वाचन आयोगले एक सूचना जारी गर्दै बुढा निर्वाचित भएको पद रिक्त भएको जानकारी दिएको हो।

निर्वाचन आयोगका अनुसार, २०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूले दल त्याग गरी अन्य दलमा प्रवेश गरेको भनी नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले निर्णय गरी आयोगमा जानकारी गराएको थियो।

राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम दल त्याग गरेको ब्यहोराको जानकारी प्राप्त भएपछि आयोगको मिति २०८३/०३/०८ गतेको निर्णयअनुसार उनीहरूको पद स्वतः रिक्त भएको हो। आयोगले यससम्बन्धी सूचना आजको गोर्खपत्र दैनिकमा प्रकाशन गरेको छ।

अध्यक्ष बुढासँगै नेपाली कांग्रेसबाट निर्वाचित अन्य दुई जनप्रतिनिधिको पद पनि रिक्त भएको छ। पद गुमाउनेहरूमा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को पाल्हीनन्दन गाउँपालिकाकी उपाध्यक्ष फातिमा खातुन अन्सारी र रूपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं. ३ का वडा अध्यक्ष बिष्णु ढकाल रहेका छन्।

राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम २२ को उपनियम (२) बमोजिम निर्वाचन आयोगले यो सूचना सर्वसाधारणको जानकारीका लागि प्रकाशित गरेको जनाएको छ।

प्रकाशित मिति : २०८३ असार ९ गते मंगलबार
अरु पनि पढ्नुहोस्