
मुगु जिल्लामा सक्रिय गैरसरकारी संस्था कर्णाली ग्रामीण उत्थान तथा समाज विकास केन्द्र (सिडिएस–पार्क) मुगु र बालविवाह विरुद्ध साझा अभियान (क्याक्मा) को संयुक्त सहकार्यमा छायाँनाथ रारा नगरपालिका तथा खत्याड गाउँपालिकाका अनार्थ, अपाङ्गता भएका र अति विपन्न बालबालिकालाई खाद्यान्न, लत्ताकपडा तथा शैक्षिक सामग्री वितरण गरिएको छ।
संस्थाको विपद् राहत कोषमार्फत आयोजित कार्यक्रममा आर्थिक रूपमा कमजोर, असहाय तथा अपाङ्गता भएका बालबालिका र उनीहरूका परिवारलाई आवश्यक राहत सामग्री हस्तान्तरण गरिएको हो। कार्यक्रमअन्तर्गत छायाँनाथ रारा नगरपालिका–८ का रविन रावल तथा खत्याड गाउँपालिकाका आयान शाही, कल्से नेपाली, जौमति बोहरा, माया शाही र सावित्री शाहीलाई राहत प्रदान गरिएको थियो।
सिडिएस–पार्कका सस्थापक अध्यक्ष अज बहादुर शाहीले कर्णालीका दुर्गम तथा विपन्न समुदायका बालबालिकाको शिक्षा, स्वास्थ्य र दैनिक जीवनमा सहयोग पुर्याउने उद्देश्यले राहत वितरण गरिएको जानकारी दिए। उनले आर्थिक अभावका कारण आधारभूत आवश्यकता पूरा गर्न कठिनाइ भोगिरहेका परिवारलाई सहयोग पुर्याउनु संस्थाको सामाजिक उत्तरदायित्व भएको बताए।
राहत प्याकेजमा खाद्यान्न, मौसमअनुकूलका लत्ताकपडा तथा कापी, कलम लगायतका शैक्षिक सामग्री समावेश गरिएको थियो। वास्तविक आवश्यकता भएका टुहुरा, अपाङ्गता भएका, अति विपन्न तथा जोखिममा रहेका बालबालिकालाई प्राथमिकतामा राखेर सामग्री वितरण गरिएको संस्थाले जनाएको छ।
राहत प्राप्त गरेपछि लाभग्राही तथा स्थानीय अभिभावकहरूले कठिन परिस्थितिमा गरिएको सहयोगप्रति सिडिएस–पार्क र क्याक्माप्रति आभार व्यक्त गरेका छन्। उनीहरूले यस्ता मानवीय सहयोगले विपन्न परिवारलाई ठूलो राहत मिल्नुका साथै बालबालिकाको शिक्षालाई निरन्तरता दिन समेत सहयोग पुगेको बताएका छन्।
सिडिएस–पार्क र क्याक्माले विगत लामो समयदेखि कर्णालीका दुर्गम क्षेत्रमा बालविवाह न्यूनीकरण, शिक्षा, स्वास्थ्य, सामाजिक सचेतना तथा विपद् व्यवस्थापनका क्षेत्रमा निरन्तर काम गर्दै आएका छन्। आगामी दिनमा पनि आवश्यकता भएका समुदायलाई लक्षित गरी यस्ता मानवीय तथा परोपकारी कार्यक्रमलाई निरन्तरता दिने संस्थाले प्रतिबद्धता जनाएको छ।
प्रतिक्रिया दिनुहोस्