
मुगुको छायाँनाथ रारा नगरपालिकाले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्दै आगामी दिनमा पनि प्रत्येक बालबालिकालाई राष्ट्रिय खोप तालिकाअनुसार नियमित रूपमा गुणस्तरीय खोप सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।
“स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागितामा पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता” भन्ने मूल नारासहित आयोजित कार्यक्रममा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणासम्बन्धी राष्ट्रिय निर्देशिकाअनुसार नगरपालिकाका सबै वडाका लक्षित उमेर समूहका बालबालिकाले राष्ट्रिय खोप तालिकामा समावेश सबै खोप प्राप्त गरेको सुनिश्चित भएपछि नगरपालिकालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको हो।
कार्यक्रममा पूर्ण खोप अभियान सफल बनाउन उल्लेखनीय योगदान पुर्याउने स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी तथा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूलाई नगदसहित प्रशंसापत्र प्रदान गरी सम्मान गरिएको थियो।
नगरपालिकाले पूर्ण खोप सुनिश्चितताको उपलब्धिलाई दीर्घकालसम्म कायम राख्न स्थानीय सरकारको नेतृत्व, समुदायको अपनत्व तथा सबै सरोकारवालाको सक्रिय सहभागितालाई निरन्तरता दिइने जनाएको छ। साथै नियमित खोप कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै कुनै पनि बालबालिका खोप सेवाबाट वञ्चित हुन नदिने प्रतिबद्धता व्यक्त गरिएको छ।
कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मी, कर्मचारी, स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, नागरिक समाज, शिक्षक, विद्यार्थी, बुद्धिजीवी तथा अन्य सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले पूर्ण खोप अभियानलाई सफल, प्रभावकारी र दिगो बनाउन सामूहिक प्रतिबद्धतासहित हस्ताक्षरसमेत गरेका थिए।
कार्यक्रमका वक्ताहरूले स्वास्थ्य क्षेत्रमा हासिल भएको यस महत्वपूर्ण उपलब्धिलाई कायम राख्न सबै पक्षबीचको समन्वय, सहकार्य र सामुदायिक सहभागिता अझ सुदृढ बनाइने विश्वास व्यक्त गरेका थिए।
प्रतिक्रिया दिनुहोस्