अध्यक्ष पद फर्काउन दल त्याग नगरेको बयान दिँदै दान बहादुर बुढा



गोठिचौर गाउँपालिका अध्यक्ष दानबहादुर बुढाले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमा आफूले नेपाली कांग्रेस पार्टी नछोडेको, कुनै अन्य राजनीतिक दलको सदस्यता नलिएको र दल त्याग गरेको भन्ने आरोप तथ्यहीन रहेको जिकिर गरेका छन्। निवेदनमा उनले नेपाली कांग्रेस जिल्ला अनुशासन समितिले आफूसँग स्पष्टिकरण मागे पनि आफूलाई विधिसम्मत रूपमा सफाइ दिने पर्याप्त अवसर नदिई दल परिवर्तन गरेको निष्कर्ष निकालिएको उल्लेख गरेका छन्।

रिटमा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ अनुसार दल त्याग गरेको मान्न दलबाट लिखित राजीनामा दिएको, अर्को दलको सदस्यता लिएको वा नयाँ दल गठन गरेको जस्ता कानुनी आधार आवश्यक पर्ने उल्लेख गर्दै, आफ्नो हकमा यस्ता कुनै पनि अवस्था नरहेको दाबी गरिएको छ। त्यसैले आफूलाई दल त्याग गरेको भनी गाउँपालिका अध्यक्ष पद स्वतः रिक्त भएको निर्णय संविधान र कानुनविपरीत भएको उनको भनाइ छ।

दानबहादुर बुढाले निर्वाचन आयोगले आफ्नो अध्यक्ष पद रिक्त भएको सूचना प्रकाशित गरेको निर्णय पनि गैरकानुनी रहेको जिकिर गर्दै उक्त निर्णय बदर गरी आफूलाई गोठिचौर गाउँपालिका अध्यक्ष पदमा पुनर्बहाल गर्न माग गरेका छन्। साथै, रिटको अन्तिम टुंगो नलागेसम्म आफूलाई पदको जिम्मेवारी निर्वाह गर्नबाट रोक्ने कार्य नगर्न अन्तरिम आदेशसमेत जारी गरिपाऊँ भनी सर्वोच्च अदालतसँग अनुरोध गरेका छन्।

प्रकाशित मिति : २०८३ असार १९ गते शुक्रबार
अरु पनि पढ्नुहोस्