जुम्लाको गुठीचौर-३ मा एकै दिन ३ नवनिर्मित भवनको उद्घाटन 



जुम्लाको गुठीचौर गाउँपालिका–३ मा नवनिर्मित वडा भवन, स्वास्थ्य चौकीको भवन र शंकर आधारभूत विधालयको भवन उद्घाटन सम्पन्न भएको छ। सनिवार उक्त वडामा एक कार्यक्रमको आयोजना गरी उद्घाटन गरिएको हो।

वडा अध्यक्ष इन्द्र बुढाले यी संरचनाले स्थानीय नागरिकलाई सहज र गुणस्तरीय सेवा दिन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। उनका अनुसार नयाँ भवन निर्माणसँगै वडा कार्यालयबाट सेवा प्रवाह थप व्यवस्थित हुने, स्वास्थ्य चौकीबाट नागरिकले सहज स्वास्थ्य सेवा पाउने र विद्यालयको नयाँ भवनले बालबालिकालाई सुरक्षित तथा अनुकूल सिकाइ वातावरण प्रदान गर्नेछ।

‘विकास भनेको भवन मात्रै होइन, नागरिकको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउनु हो। यी संरचनाले त्यसै दिशामा महत्वपूर्ण योगदान पुर्याउनेछन्,’ अध्यक्ष बुढाले भने।

गाउँको विकासका लागि स्थानीय तह, जनप्रतिनिधि र नागरिकबीचको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै नयाँ संरचनाको संरक्षणमा सबैको समान जिम्मेवारी हुने कार्यक्रमका प्रमुख अतिथि पूर्व जिल्ला विकास समिति सभापति तिर्थ बहादुर बुढाले बताए।

त्यस्तै नयाँ स्वास्थ्य चौकी भवनले ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा विस्तार गर्न थप सहज वातावरण सिर्जना गर्ने कार्यक्रममा सहभागी जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख किरण शर्माले बताए।

‘स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकार हो। राम्रो पूर्वाधारले सेवाको गुणस्तर पनि सुधार गर्न मद्दत गर्छ,’ शर्माले बताए।

कार्यक्रममा गुठीचौर गाउँपालिका–१ का वडा अध्यक्ष अर्जुनकुमार महतारा, वडा नं.–४ का अध्यक्ष टिकादत्त न्यौपाने तथा वडा नं.–५ का अध्यक्ष कमल महतलगायत जनप्रतिनिधि, स्थानीय अगुवा, कर्मचारी र सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो।

उक्त अवसरमा सार्वजनिक संरचना निर्माणका लागि जग्गा उपलब्ध गराउने जग्गादाताहरूलाई सम्मान गरिएको थियो। उनीहरूको योगदानको प्रशंसा गर्दै वक्ताहरूले सामुदायिक विकासमा स्थानीय नागरिकको सहयोग सदैव प्रेरणादायी रहने बताए।

प्रकाशित मिति : २०८३ असार २१ गते आइतबार
अरु पनि पढ्नुहोस्