
आगलागिका कारण प्रत्येक वर्ष हुने जनधनको क्षति न्यूनीकरण गर्ने उद्देश्यका साथ नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा जुम्लाले चन्दननाथ नगरपालिका २ र ३ मा ६ वटा फायर हाइड्रेन्ट जडान गरेको छ ।
बस्तीमा आगो लागे तत्काल पानी उपलब्ध गराई आगो नियन्त्रण गर्न सहज बनाउने लक्ष्य सहित यी हाइड्रेन्ट सञ्चालनमा ल्याइएकाे नेपाल रेडक्रस साेसाइटीले जानाएकाे छ ।
नेपाल रेडक्रस सोसाइटीले समुदायमा आधारित विपद् जोखिम न्यूनीकरण कार्यक्रमअन्तर्गत नगरपालिकाका घना बस्ती तथा आगलागीको उच्च जोखिम रहेका स्थानलाई प्राथमिकतामा राखेर फायर हाइड्रेन्ट जडान गरेको जनाएको छ ।
अब आपत्कालीन अवस्थामा दमकल, सुरक्षाकर्मी तथा स्थानीय स्वयंसेवकले नजिकैबाट पानी प्रयोग गरी आगलागी नियन्त्रण गर्न सक्ने अपेक्षा गरिएको छ ।
नेपाल रेडक्रस साेसाइटी जिल्ला शाखा जुम्लाकि सुपर परियोजना अधिकृत ईश्वरा सुवेदीका अनुसार चन्दननाथ नगरपालिका २ र ३ का विभिन्न स्थानमा ६ वटा फायर हाइड्रेन्ट जडान गरिएको बताइन्।
उनका अनुसार बस्तीमा आगलागी हुँदा पानीको अभावका कारण आगो फैलिने समस्या न्यूनीकरण गर्न यो पहल प्रभावकारी हुने विश्वास व्यक्त गरिन् । फायर हाइड्रेन्टले आपत्कालीन उद्धार तथा आगलागी नियन्त्रण कार्यलाई छिटो, सहज र प्रभावकारी बनाउने उनले बताइन् ।
त्यस्तै सामाजिक परिचालक करबिर चन्दका अनुसार फायर हाइड्रेन्ट जडानसँगै स्थानीय समुदायलाई यसको प्रयोग, संरक्षण र आगलागीबाट बच्ने उपायबारे सचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरिएको छ ।
विपद्का बेला समुदाय आफै सक्षम भए मात्रै जनधनको क्षति कम गर्न सकिने भएकाले स्थानीयको क्षमता अभिवृद्धिमा विशेष जोड दिइएको उनले बताए ।
जुम्लाका अधिकांश बस्तीमा साँघुरा गल्ली, परम्परागत घर र पानीको सीमित पहुँचका कारण आगलागी हुँदा नियन्त्रण गर्न चुनौती हुने गरेको छ। यस्तो अवस्थामा फायर हाइड्रेन्टको स्थापना स्थानीयका लागि महत्वपूर्ण पूर्वाधारका रूपमा हेरिएको छ ।
स्थानीयवासीले पनि बस्तीको सुरक्षाका लागि गरिएको यो पहलको स्वागत गर्दै यसको नियमित मर्मत सम्भार र संरक्षणमा सबैको साझा जिम्मेवारी रहने बताएका छन्।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा जुम्लाले विपद् जोखिम न्यूनीकरण, सुरक्षित समुदाय निर्माण तथा स्थानीय तह सँगको सहकार्यलाई आगामी दिनमा अझ प्रभावकारी बनाउँदै यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
फायर हाइड्रेन्ट जडानसँगै चन्दननाथ नगरपालिकाका बस्तीहरू आगलागीको जोखिमसँग जुध्न थप तयार र सुरक्षित बन्ने विश्वास गरिएको छ।
प्रतिक्रिया दिनुहोस्