स्थानीय कार्यपालिकाका पदाधिकारीलाई निर्वाचन आचारसंहिता विपरीत प्रचारप्रसारमा सहभागी नहुन आग्रह 



आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि स्थानीय तहका जनप्रतिनिधि आचारसंहिता विपरीत प्रचारप्रसारमा सहभागी नहुन आग्रह गरेको छ।

स्थानीय तहका केही जनप्रतिनिधि निर्वाचन आचारसंहिता विपरीत राजनीतिक दल तथा उम्मेदवारको प्रचारप्रसारमा सहभागी भएको भनी उजुरी तथा गुनासो प्राप्त भएकामा आयोगको गम्भीर ध्यानाकर्षण भएको आयोगले उल्लेख गरेको छ।

सबै राजनीतिक दल, उम्मेदवार तथा सम्बन्धित पक्षले निर्वाचन आचारसंहिताको पूर्ण पालनाको विषयमा आयोगले अनुगमन गरिरहेको जनाएको छ।

निर्वाचन आचारसंहितामा रहेको व्यवस्थाअनुसार, स्थानीय कार्यपालिकाका पदाधिकारीले आफू बहाल रहेको स्थानीय तह बाहेक अन्य स्थानीय तहमा सम्बन्धित राजनीतिक दलको निर्वाचन प्रचारप्रसारमा संलग्न हुनसक्ने भए पनि सरकारी स्रोत र साधनको प्रयोग गर्न नपाइने स्पष्ट व्यवस्था छ।

निर्वाचन आचारसंहिता प्रतिकूल हुने गरी स्थानीय कार्यपालिकाका पदाधिकारीले आफू बहाल रहेको स्थानीय तहमा कुनै पनि राजनीतिक दल वा उम्मेदवारको निर्वाचन प्रचारप्रसारमा सहभागी नहुन आयोगले सचेत गराएको छ।

प्रकाशित मिति : २०८२ फागुन ११ गते सोमबार
अरु पनि पढ्नुहोस्